माओवादीको केन्द्रीय समिति बैठक सुरु, माओवादी अहिले पार्टीजस्तो नभएको प्रचण्डकै टिप्पणी

Maoist central commitee metting

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरे । उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने बताए ।

‘पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ । तर, पार्टी पार्टीजस्तो भइराखेको छैन’, उनले भने, ‘कम्युनिष्ट पार्टीको पुनःनिर्माण अभियान यो बैठकबाट थाल्नुछ । केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु ।’

उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने बताए । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि बताए । बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएका थिए भने पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बनाएका थिए ।

यसअघि विहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसमेत पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस