कोशीमा प्रचण्डका ज्वाईको लफडाले ५ बजेसम्म सर्‍यो मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण

Udhab thama mukhyamantri niyukta

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ ।

यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । तर सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला माओवादीको आन्तरिक विवादले शपथग्रहण सरेको हो ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापासँगको सहमतिमा नै बुधबार बिहान १० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तोकेको थियो । शपथग्रहणमा प्रदेश प्रमुखको कार्यालयले आमन्त्रण गरेका अतिथिहरु आइसकेका बेला स्थगितको सूचना आएपछि उनीहरु फर्किन बाध्य भएका हुन् ।

सभामुखबाट राजीनामा दिएका गौतमलाई अर्थमन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा अर्थमन्त्रीमा दाबी गरेपछि माओवादी दलभित्र विवाद बढेको छ । माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णयमा पुगिसकेको थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो । सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् । नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताए ।

सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ । एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । मुख्यमन्त्री थापा समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् । कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् ।

कोशीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको ४७ जना सांसद रहेको झिनो बहुमतको सरकार गठन भएको छ । ९३ जना सांसद रहेको कोसी प्रदेशमा बहुमतको सरकारका लागि जम्मा ४७ जना सांसद आवश्यक पर्छ । यहाँ एमालेको ४० र राप्रपाका ६ जना सांसद छन् । पुनर्जीवित गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजादीका चार र जसपाका एकजना सांसद छन् ।

प्रतिकृया दिनुहोस