कोशी प्रदेशका सभामुखले दिए राजीनामा, सरकार बनाउन गठबन्धनको बहुमत पुग्ने

Baburam gautam

विराटनगर । कोशी प्रदेश सभा नै विगठन हुने आशंका भइरहेका बेला अन्ततः कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका छन् ।

गौतमले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताए । उनले आफ्नो राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताए ।

काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडसहितका शीर्ष नेतासँग छलफल गरेका थिए । ती छलफलमा गठबन्धनको सरकारका लागि उनलाई पद त्याग्ने सुझाव आएको थियो । छलफलका क्रममा उनले राजीनामा नदिने अडान राखेका थिए। गौतमले आफूलाई मुख्यमन्त्री बनाउने अवस्थामा मात्रै राजीनामा दिने अडान नेताहरुसँग राखेका थिए । तर उनलाई सभामुखबाट हटेपछि नयाँ क्याबिनेटमा मन्त्री बनाउने आश्वासन आएको छ ।

ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए । तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो । अब उनै थापाले एक महिनाबीचमै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

प्रतिकृया दिनुहोस