सभामुख सहितको समर्थनमा कोशी प्रदेशमा सिटौला पक्षधर उद्धव थापा मुख्यमन्त्री नियुक्त

Udhab thama mukhyamantri niyukta

विराटनगर । बराबरी अवस्थामा रहेको कोशी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको थियो । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन् । कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए ।

प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए । यसअघि बिहीबार नै एमालेले सभामुखलाई गणना गरेर सरकारको दाबी गरे थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

नेकपा एमाले र राप्रपाका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताउँछन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दावी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको दावी गरे ।

नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए । ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ उनले भने, ‘तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं ।’

सभामुख प्रदेशसभामा दल त्याग गरेर तटस्थ हुँदा पनि निर्वाचन आयोगको तथ्यांक अनुसार यस प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसदको संख्या १३ रहेकोलाई संवैधानिक र कानुनी रुपमा अस्विकार गर्ने अवस्था नरहेको गठबन्धन दलका सांसदहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस