१७३ दिनमा ढल्यो कोशीमा एमालेको सरकार, नयाँ सरकार बनाउन दलहरुलाई सकसैसकस

Hikmat kumar karki

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । योसँगै नेकपा एमालेले ६ महिनामै सबै प्रदेशमा सरकार विहीन बनेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत पाउन नसकेर कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त भए पनि कोशी प्रदेशमा नयाँ सरकार गठनको बाटो सहज देखिएको छैन । कोशी प्रदेशमा एमालेको ४० र राप्रपाको ६, कांग्रेसको २९, माओवादी केन्द्रको ९सभामुख बाहेक १२०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीको पक्षमा ४६ मत मात्रै खस्यो, जुन एमाले र राप्रपाको मत हो । कार्कीको सरकार टिकाउन एक मत पुगेन । विश्वासको मत लिने बेलामा ४३ मत खसे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग सभामुख बाहेक ४६ मत नै छ । विश्वासको मत दिँदा एक सांसद रहेको जसपा निर्वाचन प्रक्रियामा तटस्थ बस्यो । जसपा सांसद निर्मला लिम्बू मत विभाजनक बैठकमै अनुपस्थित भइन । प्रतिपक्षका दुई सांसद पनि आएनन् ।

कठिन अंकगणितका कारण कांग्रेस माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीको गठबन्धनलाई नयाँ सरकार गठनका लागि सजिलो छैन । कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दाबी गरिरहेका छन् ।

सभामुख निर्णयक भएका कारण गठबन्धन दललाई बहुमत जुट्ने आश छ । सभामुखले बराबरी हुँदा मात्रै निर्णायक मत दिन पाउने भएका कारण गठबन्धन दललाई विश्वासको मत लिने बैठकमा विपक्षी दलका एक जना मात्रै सांसद अनुपस्थित भए भने के गर्ने भन्ने चिन्ता छ ।

एमाले कोशीको सबैभन्दा ठूलो दल हो । बहुमत जुटाउन नसकेको एमाले सहमतीय सरकारको पक्षमा छ । नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक भएका कारण गठबन्धन दलले राप्रपालाई फकाइरहेका छन् । विश्वासको मत एमालेलाई दिएको राप्रपाले के गर्ने भन्ने निर्णय सुनाइसकेको छैन ।

 

प्रतिकृया दिनुहोस