विप्लव भन्छन्, समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड हो

Netrabikram chanda

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन् ।

राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन् । ‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो,’ उनले भने, ‘यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन ।’

सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने बताए । मोर्चाले नेपाली जनताको समाजवादप्रतिको चाहाना पूरा गर्ने जिकिर गरे । उनले भने, ‘ नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पूरा गर्ने मोर्चाले बोकेको छ ।’

नेपालको भविष्य कुनै पनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने उनले बताए । ‘अब देशको नेतृत्व देशभक्तहरुले गर्छन् । म युवा पुस्तालाई निराश नहुन आग्रह गर्दछु,’ उनले भने ।

देशमाथि अतिक्रमण भइरहेकाले जनतामा अत्याचार मच्चिरहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि असमाधान सन्धि सम्झौताहरू खारेज भएका छैनन्, हामी ७ बुँदे सहमति र घोषणपत्र लिएर आएका छौँ, यो देशको नेतृत्व हामी गर्छौँ, मोर्चाले सहिदका सपनाको रक्षा गर्छ ।’ निराशाले उत्पीडक शासक र विदेशी साम्राज्यवादी शक्तिलाई फाइदा हुने भएकोले नेपाली जनतालाई निराश नहुँदै समाजवादको यात्रामा सहभागी हुन उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस