एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्छन्, ‘माओवादीले दम्भ र घमण्ड नदेखाओस्, रावण जन्माउने काम नगर्नूस्’

Madhav nepal surkhet

सुर्खेत । दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रसँग वैचारिक रुपमा नजिक रहेको नेकपा (एकीकृत समाजवादी) माओवादीसँग रुष्ट बन्न थालेको छ । पछिल्लो समय माओवादीको व्यवहारप्रति असन्तुष्टी जनाउँदै आएको एकीकृत समाजवादीले माओवादीको कार्यशैली सच्याउन आग्रह गर्न थालेको छ ।

सुर्खेत पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए । ‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने ! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस् । मिलेर अगाडि बढ्नूस् ।’

उनले थपे, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो। अर्काेले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो । अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ । थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नूस् ।’

उनले आफ्नो पार्टी नेपालको राजनीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै दम्भ र घमण्ड नदेखाउन माओवादी केन्द्रलाई चेतावनी समेत दिए । माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा नेपालले कर्णालीकै जस्तो अवस्था रहे पार्टी एकता त के समाजवादी मोर्चा निर्माण पनि सम्भव नरहेको बताए ।

आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुग्ने उनले टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस