एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ

Indrajit rai

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् ।

नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको एसएसपी कार्कीले जानकारी दिए ।

२०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।

प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।

बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।

प्रतिकृया दिनुहोस