निर्वाचन आयोग भन्छ, ३ वटै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो

Tanhun matpetika

काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सकिएको छ । बारा–२, तनहुँ १ मा र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।

निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ ।

आयोगकाअनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको जानकारी दिए ।

यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता थिए । तनहुँ १ मा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा गत निर्वाचनभन्दा दुई प्रतिशत मत कम खसेको हो ।

चितवन २ मा पनि मंसिरको प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ । यहाँ गत निर्वाचनभन्दा झण्डै ५ प्रतिशत मत कम खसेको हो । मंसिर ४ मा चितवन–२ मा ६७ दशमहल ६३ प्रतिशत मत खसेको थियो । यसपल्ट ६३ प्रतिशतभन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

बारा क्षेत्र नम्बर २ मा पनि कम मत खसेको छ । त्यहाँ ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुल ६ वटा स्थानीय तहका ४४ वडा रहेको यस निर्वाचन क्षेत्रमा गाउँबाट मतपेटिका कलैया ल्याइँदैछ ।

आयोगका अनुसार बारा-२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ । बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस