आज मातातीर्थ औँसी मनाइँदै, काठमाडौंको मातातीर्थमा मेला

Matatirtha aushi

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ ।

आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरुको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा बैशाख कृष्ण औँसीलाई लिइएको हो ।

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे । तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झदै स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे । त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो । सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए । माता सीता पनि प्यासले आकुल ब्याकुल भईन ।

माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन । पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन । कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ ।

प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो । रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भईसकेकी आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले ।

त्यसपछि कुण्डमा छाँयाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दैै गरेका छोरालाई घर फर्काइन् ।

मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहदैँ आएको छ । कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लागेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...