‘राजा मार्ने देश’ मा जेवी ओलीको यस्तो छ चर्तिकला (भिडियोसहित)

Raja marne desh songs

काठमाडौं । पछिल्लो समयमा नेपाली लोक दोहोरी गीतका म्युजिक भिडियोहरु संवादमा आधारित बन्न थालेका छन् । कुनै पनि गीतको म्युजिक भिडियोमा पात्रहरु बीचको संवाद नभएको अहिले विरलै पाइन्छ ।

कतिपय गीतहरु संवादकै कारण पनि विवादमा तानिएका छन् । संवादकै कारण भद्दा पनि बनाइएका छन् । तथापि अमेरिकामा रहेका सर्जक जेवी ओलीले गीतलाई संवादमा जोड्ने प्रयास गरेका छन् । अर्थात् उनले सोमबार मात्रै नयाँ गीतको म्युजिक भिडियो ‘राजा मार्ने देश’ सार्वजनिक गरेका छन् ।

‘राजा मार्ने देश’ को गीतको शव्द, संगीत र स्वर जेवी ओलीकै छ । १० मिनेट ४६ सेकेन्डको गीतमा वर्तमान राजनीतिक परिस्थितीप्रति निक्कै व्यंग्य गरिएको छ । केही तथ्यपरक भए पनि यस गीतको कतिपय शब्द भने विवादमा आउने प्रकारका छन् । राज परिवारको हत्या भएकोदेखि मदन भण्डारी र जीवराज आश्रित मानिए पनि हत्यारा पत्ता लगाउन नसक्नु दुःखको कुरा हो । गीतको संवादमा सोही दर्शाइएको छ ।

तर, पछिल्लो समयको चर्चित काण्ड भनिने पल शाह र सन्दिप लामिछानेलाई फसाइएको भनिएको छ । त्यति मात्रै चुनावकै बेला रविहरुले केही गर्न खोज्दा केही गर्न नदिएको भनिएको छ । यसले यो गीतलाई थोर बहुत विवादमा ल्याउने पक्कापक्की छ ।

अर्काेकुरा ‘राजा मार्ने देश’ मा माओवादीको १० वर्षे जनयुद्धमा कति मारिए, कति काटिए जस्ता शव्दावली राखिएको छ । रवि लामिछानेले बजार तताएको बाह्र भाई भन्ने शब्द पनि प्रस्तुत गरिएको छ । गीतमा निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको कुरा पनि संवादमै उल्लेख गरिएको छ ।

गीतको भिडियोको निर्देशन पनि ओलीले नै गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको ‘राजा मार्ने देश’ को म्युजिक भिडियोमा सुरबिर पण्डित, रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होमसिंह बिश्वकर्मा आदीको अभिनय रहेको छ । जुन गीत युट्युवमा राखिनुअघि आइतबार काठमाडौंमा सार्वजनिक गरिएको थियो ।

Video

प्रतिकृया दिनुहोस