२७ वर्षीय सुजन बाग श्रेष्ठले छेडे जिब्रो, जोगियो बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा

Jibro chedne sujan vaktapur

भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । मध्यपुर थिमि नगरपालिका–८ बोडेका २७ वर्षीय श्रेष्ठले जिब्रो छेडाएर बिस्काः (बिस्केट) जात्राअन्तर्गत जिब्रो छेड्ने जात्राको परम्परा जोगाएका हुन् । उनले पहिलोपल्ट जिब्रो छेडाएका हुन् ।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । तीनदिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि अर्धचन्द्राकार बत्ति (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

जिब्रो छेडेर नगर परिक्रमा गराएर बोडेकै महालक्ष्मी मन्दिर परिक्रमा गराई सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ। जिब्रोबाट सुइरो निकालेपछि महालक्ष्मी मन्दिरकै माटो जिब्रोमा लगाइदिन्छ ।

प्रतिकृया दिनुहोस