२ करोड काण्डले गुम्यो साधारण सदस्यता : श्रेष्ठ ‘आउट’ हुँदा कंसाकारको संसदमा ‘इन्ट्री’

रवि भन्छन्, ‘श्रेष्ठले बोली फेर्नु भयो, पार्टीले नगरिदिओस्, गर्‍यो भने म देखाइदिन्छु भन्नुभएको छ’

Dhakakumar bindabasini kansakar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ ।

पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिए ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।

बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’ उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए । उनले अघि भने, ‘पार्टीले नगरिदिओस्, गर्‍यो भने म देखाइदिन्छु भन्नुभएको छ ।’

श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।

कंसाकार मकवानपुरकी हुन् । कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस