स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा, रास्वपामा जाने तयारी

‘कांग्रेस दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुँदैछ’

Swarnim wagle

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि उल्लेख गरेका छन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।

कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन् । राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन् ।

‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको छ । पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले भनेका छन् ।

यसअघि बिहीबार नै स्वर्णिमले कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा नेता शेखर कोइराला र गोविन्दराज पोखरेललाई एक सन्देश पठाएका थिए । जसमा शेरबहादुर(आरजु गिरोहको निरन्तर हेपाइका कारण कांग्रेसमा रहन नसकेको उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस