कोशीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारद्धारा ६ सदस्यीय समिति गठन

Koshi andolan

काठमाडौं । कोशी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि सरकारले वार्ता समिति गठन गरेको छ ।

गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो । छलफलपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।

एक नम्बर प्रदेश नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूबीच बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्या समाधान गर्न अपिल गरेका थिए ।

भेटमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंह सहभागी थिए ।

आन्दोलनले उग्र रूप लिन थालेपछि आन्दोलनरत पक्षसँग वार्ता र सम्बादको माध्यमबाट समस्या सावधान गर्न सरकार सकारात्मक देखिएको छ । यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सरकारले छलफल थालिसकेको छ । केही दिनभित्रै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताए ।

प्रतिकृया दिनुहोस