तनहुँ र बारामा बैशाख १० गते उपनिर्वाचन हुने, चैत २० गते उम्मेदवारी दर्ता

Election commission nepal

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र -१ र बारा -२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।

१६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा -२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।

१० वैशाखमा चितवन -२ मा पनि उपचुनाव हुँदैछ । चितवन -२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस