यूएईलाई हराउँदै नेपाल पुग्यो विश्वकप छनोटमा, यूएई ९ रनले पराजित

Kusal abh bhim

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ ।

बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।

बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो । अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । ४४औंभरको अन्त्यमा पनि उसको स्कोर २०८/५ थियो ।

तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर इनिङकै अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

जवाफमा नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै आरिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुशल मल्ल ५ र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भए । ३/३७ को अवस्थामा रहेको नेपालको पारी चार ब्याट्सम्यानले लगातार अर्धशतक बनाएर सम्हाले ।

सुरुमा कुशल भुर्तेल र भीम सार्कीको जोडी जम्यो । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका कुशल थप तीन बलको सामना गर्दै ५० रनमै आउट भए ।

त्यसपछि भीम र आरिफ शेखले क्रिजमा जमेर खेले । दुबैले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । तर, ३१औं ओभरको अन्तिम बलमा भीम एलबीडब्लू धरापमा परे । ७६ बलको सामना गरेका उनी ९ चौकाको मद्दतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले अर्धशतक पूरा गरे ।

गुल्सन झाले क्रिजमा टिकेर साथ दिँदा खुलेर खेल्ने प्रयास गरेका आरिफले ३९औं ओभरको तेस्रो बलमा चौका हान्दै अर्धशतक पूरा गरे । उनी पनि थप ३ बलको सामना गरेर व्यक्तिगत ५२ रनमा आउट भए । त्यसपछि क्रिजमा गुल्सन झालाई साथ दिन दीपेन्द्र सिंह ऐरी आएका थिए ।

टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर खराब प्रकाशका कारण अम्पाएरले जुनसुकै बेला खेल रोक्न सक्ने अवस्था थियो । त्यो बेला डिएल मेथडबाट निर्णय गर्दा नतिजा नेपालको पक्षमा हुने थिएन । किनकि ४१औं ओभर सकिँदा नेपालको स्कोर २३५/६ थियो, जबकी डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो ।

तर ४२औं ओभरमा खेल नेपालको पक्षमा आयो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि डीएलमा जाँदा वा नजाँदाको दुबै परिस्थितिमा खेल नेपालको अनुकल ढल्कियो । यो ओभरमा मात्र नेपालले आफ्नो खातामा २० रन थपेको थियो ।

थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिग टुबाट स्कटल्याण्ड, ओमान र नेपालले स्थान पक्का गरिसके । सुपर लिगबाट जिम्बाब्बे र नेदरल्याण्ड्सले खेल्ने पक्का भइसकेको छ भने तीन टिमको टुङ्गो लाग्न बाँकी छ ।

अब लिग टु को पूछारका चार टिम नामिबिया, अमेरिका, युएई र पीएनजीसहित च्यालेन्ज लिगको शीर्ष दुई टिम क्यानडा र जर्सी गरी ६ टिमको प्लेअफ क्वालिफायर नामिबियामा यसै मार्चको अन्तिममा सुरु हुनेछ । जसबाट शीर्ष दुई टोलीले जिम्बाब्बेमा हुने वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...