माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा सम्पन्न, संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी

Maobadi baluwatar neta

काठमाडौँ । माओवादी धारका दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।

शुक्रबार बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलगायत, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओली लगायतका सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डमाथि सर्वोच्च अदालतमा जनयुद्धकालीन विषयमा रिट परेपछि माओवादी धारका दलको बैठक यसअघि पनि बसेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको ८ दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको थियो ।

आज बसेको बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ । अन्तिम दिन प्रदर्शन गर्ने भनिए पनि मिति तय भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यसबीचमा बिहीबार सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाले जानकारी दिए ।

सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न शुक्रबार आदेश दिएपछि माओवादी वृत तरङ्गित भएको हो ।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन । सत्य के हो, मलाई भन्न दिनुस् । हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु ।’ सार्वजनिक कार्यक्रममै प्रचण्डले मान्छे मारेको जिम्मा लिएपछि पीडित कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिकृया दिनुहोस