तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन आज हुँदै, ७ बजेसम्म परिणाम घोषणा हुने

Ramchand subash

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । मुलकमा गणतन्त्र स्थापनापछि चौथो कार्यकालको लागि आज तेस्रो राष्ट्रपति चयन हुन लागेको हो ।
निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान कार्य सम्पन्न हुनासाथ मतगणना कार्य सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी अघि बढाएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन मतदान स्थलमा क्यामेरा, मोवाइल, प्रज्वलनशील पदार्थ र हातहतियार लैजान निषेध गरिएको छ । महिला र पुरुष मतदाताको लागि बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकृत पौडेलले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ । निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति निर्वाचित हुन कुल मतको ५० प्रतिशत मतभार कटाउनु पर्ने कानुनी व्यवस्था छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसके पुनः मतदान गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, यो निर्वाचनमा दुईजना मात्रै उम्मेदवार भएकाले पहिलोपटक नै एक उम्मेदवारले ५० प्रतिशत मतभार कटाउने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...