‘जबसम्म आफ्नो हक अधिकारका लागि बोल्न सक्ने हुँदैनन्, तबसम्म महिला अधिकार पूर्ण हुन सक्दैन’

डेजी अवार्ड विजेता विजया देउजा भन्छिन्, ‘आज ऐतिहासिक र महिलाहरुको विषेश चाड पनि हो ’

Bijaya deuja nishannews

आज अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा धेरैले विजया देउजालाई नचिन्न सक्छन् । भक्तपुरमा जन्मिएकी देउजालाई नेपालीले बिर्सिएको नाम पनि हुनसक्छ । तर, अमेरिकाको श्यानन मेडिकल सेन्टर, सान एन्जेलो टेक्सासमा मेडिकल, सर्जिकल र ओन्को युनिटमा कार्यरत नेपाली नर्स देउजाले अमेरिकाको डेजी फाउण्डेशनले प्रदान गर्ने डेजी अवार्ड जित्न सफल भएकी छन् । उनलाई अमेरिकामा असाधारण नर्सका रुपमा चिनिन्छ । नेपालमा रहँदा झण्डै १० वर्ष विभिन्न अस्पतालहरुमा काम गरेकी देउजाले युनाइटेड नेसनमा कार्यरत रहँदा उनले विभिन्न अवार्डहरु पनि पाउन सफल भएकी छन् । उनी लेखक पनि हुन् । प्रस्तुत छ, प्रतिभाकी खानी विजया देउजासँग निशान न्युजका गोपाल बराइलीले गरेको कुराकानी :

नेपालको महिला मुक्ति आन्दोलनलाई कसरी लिनु भएको छ ?
लामो त्याग र तपस्याबाट अहिले नेपालमा महिलाहरुले केही मात्रामा अधिकार पाएका छन् । अहिलेको अधिकार पाउनका लागि पनि महिलाहरुले निक्कै संघर्ष गर्नुपरेको इतिहास छ । नेपालको महिला मुक्तिको आन्दोलनकै परिणामस्वरुप नेपालका महिलाहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्ने मौका पाएका छन् । सोही आन्दोलनकै कारण कम्तीमा ३३ प्रतिशतसम्म आरक्षण सुनिश्चित गराउन सफल भएको छ । यद्यपि अहिले जे जति अधिकारहरु प्राप्त भएका छन्, त्यसलाई जोगाउँदै थप अधिकार प्राप्तीको लागि संघर्ष गर्नुपर्ने अवस्था छ । अहिले अझैं महिलामाथि हुने हत्या, हिंसा र अत्याचारका विरुद्ध लड्नुपर्छ भन्ने भावनाको विकास भएको छ । त्यो एउटा सकारात्मक पक्ष हो ।

के गर्दा चाँही समग्र नेपाली महिलाहरुको मुक्ति सम्भव छ होला जस्तो लाग्छ ?
अब महिलाहरु जाग्नुपर्छ । अब पनि नजाग्ने हो भने संविधानमा महिला अधिकारका जे जति उपलब्धीहरु हात परेको छ, ती पनि गुम्न सक्छ । अहिले महिला शसक्तिकरणको जरुरी छ । किनभने नेतृत्व विकासबाट मात्रै उनीहरुले आफ्नो अधिकार आफ्नो हातमा लिन सक्छन् । जबसम्म महिलाहरु आफैं शक्तिमा आउन सक्दैनन, जबसम्म आफ्नो हक अधिकारका लागि बोल्न सक्ने हुँदैनन्, तबसम्म महिला अधिकार पूर्ण हुन सक्दैन । विकसित राष्ट्रहरुका महिलाहरु जसरी शसक्त भएर लागेका छन्, त्यसरी नै नेपालमा पनि महिलाहरुलाई अघि बढाउन अनेक प्रकारका उत्प्रेरणा र विभिन्न प्रकारका अवसरहरु प्रदान गरिराख्ने हो भने महिला मुक्ति आन्दोलन सफल हुन्छ । महिला मुक्ति आन्दोलन सफल बन्नु भनेको समग्र देशको मुक्ति हुनु पनि हो ।

आज विश्वभर अन्तरराष्ट्रिय नारी दिवस मनाईदैछ । यसलाई तपाईले कसरी लिनुभएको छ ?
अन्तर्राष्ट्रिय नारी दिवस भनेको यो विश्वभरका महिलाहरुको खुसीको दिन हो । यो एउटै ऐतिहासिक दिन पनि हो र यो महिलाहरुको विषेश चाड पनि हो । महिलाको खुसीका लागि यसरी दिवसकै रुपमा मनाउन दिइनु समग्र महिलाहरुका लागि खुसीको कुरा पनि हो । संयुक्त राष्ट्र संघका काम गर्दाको मेरै एउटा अनुभवले के भन्छ भने महिलाहरुले युनाइटेड नेसनमा कार्यरत महिलाहरुले नेटवर्कमा भएको कार्यशैली, काम र प्रगतिलाई हेर्दा महिलाहरुले गरेको सकारात्मक कामहरु, सामाजिक कार्यप्रतिको उत्तरदायीत्व र जिम्मेवारीलाई सफलतापूवर्क सम्पन्न गर्दा एकप्रकारले मनमा उत्साह आउने रहेछ । त्यही भएर पनि महिलाहरुको लागि अन्तराष्ट्रिय नारी दिवसको बेग्लै महत्व छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले महिला दिवस कसरी मनाउँदै छन् ?
अमेरिकामा बस्ने नेपाली महिलाहरुले अन्तराष्ट्रिय नारी दिवस मनाउँदै हुनुहुन्छ । नेपाली समुदायले अमेरिकामा विभिन्न कार्यक्रम गर्दैछ । विभिन्न क्षेत्रमा योगदान दिने महिलाहरुको सम्मान र अन्तर्राष्ट्रिय नारी दिवसकै अवसर पारेर विभिन्न सामाजिक कार्यहरु पनि गरिँदैछ । यो एउटा अवसर पनि भएकाले नेपाली महिलाहरु जमघट भएर एकअर्काबीच सुखदुःख आदानप्रदान गर्ने कार्यक्रमहरु पनि गरिँदैछ । समग्रमा भन्नुपर्दा यहाँ बस्ने नेपाली महिलाहरुले पनि यसलाई अवसरको रुपमा लिनु भएको छ ।

अमेरिका र नेपाली महिलाबीच के भिन्नता पाउनु भयो ?
स्वभाविकै रुपमा अमेरिकामा बस्ने महिला र नेपालमा बस्ने महिलाबीच एकदम ठूलो भिन्नता छ । हुन त नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुले केही सेवा सुविधाहरु पाउनु भएको छ । बोल्ने अवसरहरु पाउनु भएको छ । यस हिसावमा हेर्ने हो भने अमेरिकामा बस्ने महिलाहरु जस्तै नेपालको शहरी क्षेत्रहरुमा बसोबास गर्नै नेपाली महिलाहरु फरवर्ड हुनुहुन्छ । तर, नेपालका ग्रामिण क्षेत्रहरुमा बसोबास गर्ने महिलाहरुको जीवनशैलीसँग अमेरिकन नारीहरुसँग तुलना गर्नै मिल्दैन । किनभने नेपाली नारीहरुलाई त्यसै पनि पछाडि नै पारिएको छ । त्यसमा पनि भौगोलिक विकटताले पनि उहाँहरुको जीवनशैलीलाई कठिन बनाएको छ । अमेरिकी महिलाहरु शिक्षा, स्वास्थ्य, आर्थिक र भौतिक रुपमै सक्षम छन् । उनीहरु सबै तहमा नेतृत्वदायी भुमिकामा पनि छन् । तर, नेपालमा त्यो सम्भव छैन । अर्काेकुरा महिलामाथि हुने लैंगिक हिसा नेपालमा धेरै छन् ।

धेरै नेपालीहरु अमेरिका आउन उत्तिकै मरिहत्ते गर्छन् । त्यसरी अमेरिका आउन मरिहत्ते गर्नुपर्ने कारण के होला ?
हो नि । शिक्षा, स्वास्थ्य, चेतना र आर्थिक विकासमा अमेरिकाले निक्कै फड्को मारेको छ । अमेरिका धेरै विकसित देश भएकाले यहाँमा महिलाहरु पनि उत्तिकै सक्षम छन् । सेवा सुविधाका हिसावले पनि अमेरिकामा महिलाहरुलाई धेरै सहज हुने भएकाले पनि विश्वका धेरै देशका महिलाहरु अमेरिका आउन मरिहत्ते नै गर्छन् । त्यसमा पनि धेरै नेपाली छन् । यसको मुख्य कारण भनेको संसारकै उत्कृष्ट विश्वविद्यालय छ । संसारभरका विद्यार्थी पढ्न यही आउँछन् । रोजगारीकै हिसावमा पनि राम्रो अवसर छ । अर्काेकुरा यहाँ आउँदा सुखमय जीवन बिताउन सकिएला की भनेर पनि अमेरिका आउनु इच्छुक देखिन्छन् । जुन स्वभाविक पनि हो ।

अमेरिका आएपछि नेपाली महिलाहरुले रोजगारी पाउने सम्भावना कस्तो छ ?
यदी जो कोही महिलाहरु कानुनी रुपमा वैधानिक तरिकाले आउनु भएको छ भने काम गर्न कुनै समस्या छैन । उहाँहरुको हातमा ग्रीन कार्ड छ भने उहाँहरुका लागि ठूल्ठूला कम्पनीहरुमा पनि काम गर्ने अवसरहरु आइरहेको हुन्छ । यदी कुनै महिला इलिगल या टुरिष्ट भीषामा आउनु भएको छ भने काम गर्न एकदमै गाह्रो हुन्छ । काम पाइहाले पनि कामको पैसा पाउन समस्या आउँछ । त्यही भएर आउनुपूर्व नै सबै प्रक्रिया पूरा गर्नुपर्छ । कामको शिलसिलामा आउँदै हुनुहुन्छ भने विज्ञता हासिल गरेर आउनुस् । जस्तो की नर्सिङ पढ्न आउने हो भने अमेरिकाकै लाइसेन्स पास गरेर आउनुस् । यदी नेपालमा डाक्टर काम गरिरहनु भएको छ र अमेरिका आउन चाहनुहुन्छ भने विभिन्न चरणका परिक्षाहरु पास गरेर मात्र आउँदा राम्रो हुन्छ । महिला वा पुरुष जो आउँदा पनि वैधानिक तरिकाले आउनु राम्रो हुन्छ ।

अमेरिकामा रहेका नेपाली महिला दिदिबहिनीहरु कस्तो कस्तो क्षेत्रमा संलग्न भएको पाउनु भएको छ ?
नेपाली महिलाहरु अमेरिकाका जुनसुकै क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ । कोही महिलाहरु अस्पताल, सपिङ कम्प्लेक्स, डिपार्टमेन्ट स्टोर लगायतमा हुनुहुन्छ भने व्यापार व्यवसायको क्षेत्रमा पनि उत्तिकै संलग्न हुनुहुन्छ । खासगरी अमेरिकामा बस्ने नेपाली महिलाहरुको सामाजिक अवस्था एकदमै राम्रो छ । उहाँहरु सामाजिक सेवामा उत्तिकै संलग्न रहेको देखिन्छ । साथसाथै अमेरिकामा रहेर पनि समाज सेवामा तल्लिन हुनसक्नु भनेको ठूलो कुरा हो ।

नेपाली महिला दिदीबहिनीहरुलाई के सल्लाह दिन चाहानुहुन्छ ?
सबैभन्दा ठूलो कुरा महिला भएर आफुले आफुलाई कमजोर कहिले पनि ठान्नु हुँदैन । सबै मानिसमा आफ्नो आफ्नै क्षमता हुन्छ, गुण हुन्छ, महत्व हुन्छ । यी हाम्रा गुण, क्षमता र महत्वलाई कसरी प्रेजेन्टेसन गर्छाै, फरक चाँही यतिमात्रै हो । एउटी महिला सफल बन्नका लागि घर परिवारको उत्तिकै साथ र सहयोगको खाँचो हुन्छ । यदी तपाईसँग केही गर्नसक्छु भन्ने आँट र विश्वास छ । तर, परिवारको साथर सहयोग मिल्दैन भने पनि नआत्तिकन आफ्नो लक्ष्य पूरा गर्न आफ्नो कर्तव्यपथमा लागि रहने हो भने अवस्य सफल भइन्छ । तपाई प्ररणाको स्रोत बन्नसक्नु हुनेछ । म केही गर्न सक्दिनँ की भन्ने भावना केही बोक्नु हुँदैन । त्यसो भयो भने तपाईलाई केही गर्छु भनेको बेला सहयोग नगर्नेहरु पनि तपाईको सफलतामा खुसी हुँदै साथ दिन आउनेछन् । र, एउटी महिलाले अर्काे महिलाले गरेको राम्रो कामप्रति कहिले बाधक बन्नुहुँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...