असहज अवस्थामा सुदूरपश्चिमका मुख्यमन्त्री शाह : माओवादी र नाउपासँग सहमति नुहँदै विश्वासको मत लिने तयारी

Kamal bdr shaha

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीले जानकारी दिए । ‘विश्वासको मतका लागि दलहरुसँग विभिन्न ढंगले छलफल चलिरहेको छ, आवश्यक परेमा आजै सबै दलको औपचारिक बैठकसमेत बस्नसक्छ,’ स्वकीय सचिव शाहीले भने ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै उत्साहित मुख्यमन्त्री शाहले छलफलविनै विश्वासको मत लिने निर्णय गरेका हुन् । फागुन २५ सम्म मत लिन सक्ने संवैधानिक व्यवस्था भए पनि हतारमा विश्वासको मत लिन खोज्नुलाई संशयका रूपमा हेरिएको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले मत नदिने बताउँदा शाह नेतृत्वको सरकार पनि ढल्ने आकलन हुन थालेको छ ।

गठबन्धनमै आवद्ध दलहरुले विश्वासको मत नदिने अडान लिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई प्रदेश सभाबाट विश्वास मत पाउन सकस परेको छ । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मतका लागि कांग्रेस समक्ष विभिन्न सर्त अघि सारेको छ ।

माओवादी केन्द्रले विश्वासको मत अगावै मुख्यमन्त्री सहित मन्त्रालय, संसदीय समिति लगायतको ‘पावर सेयरिङ’ प्याकेजमै टुंगो लगाउनु पर्ने माग राखेको छ । माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै गराइसकेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जालमा लेखेकी छन्, ‘दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत दिन सकिँदैन ।’

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तिमा २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १९सहित नेकपा (एकीकृत समाजवादी) का ४ र स्वतन्त्र १ सांसद गरी २४ जनाको साथ पाएर मुख्यमन्त्री नियुक्त भएका शाहलाई मत पाउन सहज छैन । संसदमा रहेको नागरिक उन्मुक्तिका ७ जना छन् । नागरिकले मत दिँदा ४१ सांसद हुन्छन् । प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १र१ सांसद छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...