राष्ट्रपति निर्वाचनबारे सातै प्रदेशका आफ्ना प्रदेशसभा सदस्यसँग छलफल गर्दै ८ दल

Program president election

ठमाडौं । राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

यही फागुन २५ गते हुने राष्ट्रपति चुनाव तयारीअन्तर्गत बिहीबार काठमाडौँमा आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गरेका ८ दलले आज देशभरका आफ्ना प्रदेशसभा सदस्यहरूसँग छलफल गर्ने भएका हुन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ८ दलीय गठबन्धनको कार्यदलले सातै प्रदेशमा प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न प्रतिनिधि खटाएको छ। छलफलको नेतृत्व कांग्रेसका पदाधिकारीहरूले गर्नेछन् ।

आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको छ ।

राष्ट्रपति चुनावका लागि मनोनयनको अघिल्लो दिन गएको फागुन १२ मा आठदलीय गठबन्धन बनेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।

संयन्त्रको निर्णय अनुसार बाग्मतीसहित सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ । यसअघि हिजो गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

जसअन्तर्गत कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरुङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई छलफलको संयोजन गर्नेछन् ।

राष्ट्रपतिको चुनावमा भाग लिने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कुल मतभार ५२ हजार ६ सय २८ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत ल्याउनुपर्छ ।

गठबन्धनसँग अहिले ३१ हजार ९ सय १७ मत छ । एमालेको कुल मतभार १५ हजार ३ सय १२ छ । एमाले अहिले तटस्थ रहेका केही साना दल र आठदलीय गठबन्धनबाट मत क्रस गराउने प्रयासमा देखिएको छ । आउँदो २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस