सकियो प्रदेशको नामाकरणको बहस : कोशी प्रदेशको विपक्षमा मात्रै ५ जना सांसद

Prov 1 pradesh sabha

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरण माथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।

प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए । छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिकृया दिनुहोस