प्रदेश १ ले आज नाम पाउने सम्भावना, ‘कोशी’ प्रदेशमा दलहरु सहमत

Pradesh 1

विराटनगर । प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।

पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी छ । यद्यपि परिस्थिति बिग्रन सक्ने भन्दै दलहरूले यो विषयलाई गोप्य राखेका छन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ । ‘दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ, आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति भए आजै नामको विषय टेबल हुन्छ ।’

अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन । नामकरणको टुङ्गो लगाउने विषयमा छलफल हुनासाथ बाहिर पहिचान वादी राजनीतिक पार्टी तथा संघ संगठनहरूले दबाब दिन विभिन्न संघर्षको कार्यक्रम हुन्थ्यो ।

यस पटक पनि सार्वजनिक हिसाबले नामकरणको टुङ्गो लगाउने प्रयास हुँदा अनावश्यक प्रभाव र दबाब आउन सक्ने सम्भावना थियो । त्यही कारण प्रदेशको नेकपा एमाले, नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भइसकेको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताए । अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने गरी अन्तिम चरण (दसौँ अधिवेशन) मा छलफल अगाडि बढेको थियो ।

तत्कालीन एमालेका पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा अन्य दलहरूसँग वार्ता तथा छलफल गर्नका लागि एमालेले वार्ता समिति निर्माण गरेको थियो । यस्तै नेपाली काँग्रेसले पनि संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा समिति निर्माण गरेको थियो । तत्कालीन सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारको तर्फबाट जसपाका नेता तथा स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वमा समिति निर्माण गरेको थियो ।

नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुङ्गो लागि सकेको छ । १ नम्बर प्रदेशमा नाम टुङ्गो नलाग्दा आफूहरूको शिर निहुराएको पूर्व सांसदहरूको भनाइ थियो भने वर्तमान सांसदहरुले पनि आफूहरूलाई लज्जा बोध भएको प्रतिक्रिया दिइरहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...