एमाले मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भने, विदेशमै रहँदा मन्त्री जाला भनेर भ्रमण रोके

Uml mantri rajinama

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

दाहाल मन्त्रिपरिषद्‍मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

एमालेबाट मन्त्री बनेकाहरुको राजीनामा बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको बताएका छन् । २०६५ सालमा दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा दाहालले ९ महिनामै सरकार छाडेका थिए ।

प्रधानमन्त्री दाहालले विदेशमै रहेका बेला मन्त्री पद जाँदा नराम्रो हुने भएकाले भ्रमण रोकेको बताएको एमालेबाट भूमि व्यवस्थामन्त्री बनेका राजेन्द्र राईले जानकारी दिए । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका थिए ।

सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । यसअघि आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले रोकेका थिए ।

 

प्रतिकृया दिनुहोस