ओलीको प्रचण्डलाई आरोप, ‘हरियो देख्नै नहुने दाम्लो चुँडाउन खोजिहाल्ने !’

Kp sharma oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन् ।

आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको बताएका हुन् ।

‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको ओलीको आरोप छ । ‘मलाई धोका दिनु कुनै ठुलो कुरा होइन । उहाँले मलाई २ महिना कस्तो गाह्रो भएको थियो भनेको सुने, हरियो देख्नै नहुने दाम्लो चुँडाउन खोजिहाल्ने अनि मैले रोकिदिने । अनि गाह्रो त हुने नै भयो’, ओलीले भने, ‘२०६३ पछि सबैभन्दा धेरै समय सरकारमा रहने प्रचण्ड र उनको पार्टी हो । ३ पटक त उहाँ प्रधानमन्त्री नै हुनुभयो ।’

पुस १० गते एमालेसँग सहमति गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा आठ दलीय छुट्टै गठबन्धन बनाए । ‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘मेरो आँखाले धोका खाएको थिएन । तपाईंले भनेपछि फूलै होला भनेर बसेँ ।’

‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भने, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ’ उनले भने, ‘एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने । कसले कचौरामा कति दूध भात दिन्छ, त्यसअनुसार खुरुक्क छिमेकीका घरतिर सर्ने ।’

प्रतिकृया दिनुहोस