बालुवाटारमा पुरानो गठबन्धन ब्युँत्याउने सहमति, धरापमा पुस १० को गठबन्धन

Purano gathabandhan

काठमाडौं । राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बिहीबार साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । त्यसका लागि पनि ३ पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् ।

कांग्रेस र माओवादीबीच भने एकीकृत समाजवादी र जसपालाई समेटेर पुरानो गठबन्धन ब्युँताउने सहमति भइसकेको छ । स्रोतका अनुसार राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको हो । त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको छ ।

यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।

चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। अब यसमा जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराइने छ ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए । उनले भने, ‘संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ ।’

प्रतिकृया दिनुहोस