मलमासको प्रभाव : पछि सर्‍यो दशैं लयायतका २०८० सालका चाडपर्वहरु, कुन चाड कहिले पर्छ ?

Chadparwa nepal

काठमाडौं । २०८० सालको दशैँ लगायतका चाडपर्वहरु अधिकमासका कारण पछि सरेका छन् । दशैं कात्तिकमा पुगेको छ ।

‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ।’

समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोका अनुसार मलमासअघिका चाडपर्व भने अगाडि आएका छन् । जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ । अक्षय तृतीया पर्व वैशाख १० गते छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ । चण्डीपूर्णिमा र उधौली पर्व पनि यही दिन मनाइन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी असार १४ गते परेको छ । यो दिन तुलसीरोपण गरिन्छ । गुरुपूर्णिमा असार १८ गते छ । गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ ।

तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ । ५ घटी १८ पला पूर्णिमापछि त्यसै दिन प्रतिपदा लाग्ने भएकाले दुवै पर्व एकैदिन परेको पञ्चांगमा उल्लेख छ ।

नागपञ्चमी भने भदौ ४ गते परेको छ । यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ । कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ । तीजपर्व असोजको १ मा पुगेको छ । गणेशचतुर्थी र ऋषिपञ्चमी असोज २ गते नै मनाइने पञ्चांगमा उल्लेख छ । त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ । सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहने छ ।

घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका कात्तिक ७ गते मंगलबार परेको छ । फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन् । कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ ।

तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ । त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ । भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ । सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ । कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ । यसै दिन नेपाल संवत् ११४५ शुरु हुनेछ। नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ। कात्तिक २९ गते भाइटीका परेको छ ।

छठपर्व मंसिर ३ गते परेको छ । ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ । चतुर्मास पूरा हुने पूर्णिमा मंसिर ११ गते छ । पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छर्ने दिन र्थात् बालाचतुर्दशी मंसिर २५ गते परेको छ ।

जनकपुरको विशेष दिन विवाहपञ्चमी पुसको १ गते परेको छ । मंसिरे पूर्णिाम अर्थात् धान्य पूर्णिमा पुस १० गते छ । यो दिन नेवार समुदायको योमरी पुन्हि पर्छ भने किरात समुदायले उभौली पर्व मनाउँछ । तीर्थस्थलमा श्राद्ध गर्ने ‘पौषे औँसी’ पुस २६ गते परेको छ । माघ शुक्ल प्रतिपदामा मनाइने सोनम ल्होसार माघ २७ गते परेको छ ।

पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत आरम्भ गर्ने पूर्णिमा माघ ११ गते परेको छ । वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी फागुन २ गते छ । स्वस्थानी व्रत भने फागुन १२ गते समापन गरिनेछ ।

पाल्गुण शुक्ल पूर्णिमामा मनाइने फागुपूर्णिमा चैत ११ गते मनाइने छ । ११ गते ९ घटी ३८ पलासम्म चतुर्दशी रही पूर्णिमा तिथि लाग्ने उल्लेख छ । तराई–मधेश क्षेत्रमा १२ गते होली मनाइने छ । पहाडी क्षेत्रमा पूर्णिमामा र तराई क्षेत्रमा प्रतिपदामा ​फागु वा होली मनाउने प्रचलन छ । काठमाडौं उपत्यकाको विशेष पर्व घोडेजात्रा चैत २६ गते परेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...