बज्रवाराही मन्दिरमा माघ १ गतेदेखि श्रीमदभागवत लगाइँदै

Bajrabarahi mandir

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा अवस्थित बज्रवाराहीदेवी मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ लगाइने भएको छ । सो मन्दिरको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि उक्त काम अघि बढाउन लागिएको हो ।

आगामी माघ १ देखि ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने भएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचायले बताए । उनले मन्दिरको नाममा रहेको जग्गा हराएपछि नित्य पूजा हुन नसकेकाले त्यसलाई पुनः सञ्चालन गर्न ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको बताए ।

काठमाडौं उपत्यकाको चार वाराही स्वेत, नील, धुम्वाराहीमध्ये बज्रवाराही भने खुबै नाम चलेकी देवी हुन् । सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ ।

बज्रवाराहीदेवीको मन्दिर २० हेक्टर जमिनको बीचमा रहेको छ । नेपाल सम्बत ७१९ मा श्रराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेका र पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका थिए । यस देवीको मन्दिर नेपाल सम्वत ८५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गराएका थिए ।

भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ । उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन् । सिपाहीहरु डराएर फर्केछन् । ‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन् । राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ । त्यसैले हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ ।

बज्रवाराहीको जंगलमा विभिन्न जडीबुटी तथा वनस्पतिहरु प्रशस्त पाइन्छन् । सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पातहरु साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न हुन्न भन्ने प्रचलन रहेको स्थानीय पुरुषोतम घिमिरेले बताए ।

सात दिन सप्ताहा महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकीएको कामलाई निरन्तरता दिने भएको समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताए । सो कामलाई सफल बनाउन नगरपालिकावासी लगायत इच्छुक व्यक्तिहरुलाई जिम्मेवारीका साथ कर्तव्यबोध गरिदिन न्यौपानेले अनुरोध गरे ।

सत धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नित्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा. नारायणहरी गजुरेलले आग्रह गरे ।

प्रतिकृया दिनुहोस