एमाले पार्टी कार्यालयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘इन्ट्री’

Kamal thapa uml ofice

मकवानपुर । अन्य दलहरुले आयोजना गर्ने राजनीतिक कार्यक्रममा समेत हम्मेसी उपस्थित नहुने राप्रपा नेपालका कमल थापा बिहीबार एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा उपस्थित भए ।

दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा थापाको उपस्थितिले जिल्लाको राजनीति तरङ्गित बनाएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौैला, भाइ गणेश थापा, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित एमाले मकवानपुरको कार्यालय पुगेका थापालाई देख्नासाथ एमालेका केही नेताहरु उत्साहित भएका थिए भने केही निराश देखिएका थिए ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरिरहेका थापा कुनै पनि अवस्थामा जित्ने रणनीतिमा छन् । सोही अनुसार उनले एमालेसँगको तालमेललाई पहिलो प्राथमिकता दिएका छन् । त्यही भएर पनि एमालेलाई रिजाउन कार्यक्रममा उपस्थित भएको अनुमान गरिएको छ ।

पहिलो पटक हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी कार्यालय पुगेका थापाले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतसँग चुनाव केन्द्रित भएर छलफलसमेत गरे ।

थापाले एमाले मकवानपुरको पार्टी कार्यालय रहेको स्थानभन्दा करिब १५० मिटर टाढाको दुरीमा राप्रपा नेपालको पार्टी कार्यालय समेत स्थापना गरेका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट थापा एमालेको सहयोगमा चुनाव लड्ने तयारीमा छन् ।

अघिल्लो संघीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग मकवानपुर–१ बाटै थापा पराजित भएका थिए । मकवानपुर–१ बाट चुनाव लड्ने तयारीमा रहेका एमालेका रामेश्वर राणा, मदन कुमार दाहाल लगायतलाई रोक्नु थापाको पहिलो रणनीति रहेको छ ।

एमालेभित्र राप्रपा नेपालसँगको गठबन्धनको चर्चा सुरु भएदेखि नै एक प्रकारको तनावको स्थिति बनेको देखिन्छ । एमाले विभाजनदेखि जिल्ला अधिवेशनसम्मका आन्तरिक विवाद मिलाउन नसकिरहेको एमाले मकवानपुरमा राप्रपा नेपालसँगको गठबन्धनले थप समस्या उत्पन्न गरिरहेको छ ।

एमालेका केही नेताहरु कमल थापा ‘डेट एक्सपाएर’ र ‘टेस्टेड’ भइसकेको भन्दै राप्रपा नेपालसँगको गठबन्धन स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । उनीहरु कमल थापाको विकल्प अन्य जो कसैलाई पनि स्वीकार गर्न सकिने तर्क गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस