धनकुटाका सबै माओवादी नेताको राजीनामा, सत्ता गठबन्धनलाई सकस पर्ने निश्चित

Hemraj bhandari

धनकुटा । सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा सहमति बन्न लागेको बेला नेकपा माओवादी धनकुटामा ठूलो विद्रोह भएको छ ।

गठबन्धन गर्ने नाममा पार्टीले जिल्लालाई सिध्याउन खोजेको भन्दै पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजिनामा दिएका छन् ।

जिल्लामा रहेका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहितले आइतवार पार्टीबाट सामूहिक राजिनामा दिएका हुन् ।

माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राईले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।

बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

'आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने, हेमराज भण्डारी को प्रस्तावलाई पूर्ण समर्थन छ', विज्ञप्तिमा भनिएको छ ।

बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । धनकुटामा वाम(लोकतान्त्रिक गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचन क्षेत्र विभाजनपछि माओवादीमा विवाद उत्पन्न भएको हो ।

धनकुटाबाट हेमराज भण्डारी निर्वातन लड्ने तयारीमा थिए । गठबन्धनबाट धनकुटा माओवादीको भागमा नपरेपछि सामूहिक राजीनामा दिनुपरेको माओवादी नेताहरुले बताएका छन् । गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ ।

यसअघि राप्रपाबाट चुनाव लडेर एमालेका राजेन्द्र राईसँग पराजित सुनिल थापा यसबीचमा कांग्रेसका शीर्ष नेतृत्वमा छन् । उनका लागि कांग्रेसले धनकुटा लिएको छ भने माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय भएको भण्डारीले बताए ।

गठबन्धनमै जसपाले पनि धनकुटामा दाबी गरेको थियो । सीट बाँडफाँट कार्यदलमै रहेका जसपा नेता रकम चेम्जोङको लागि जसपाले अडान लिएको थियो । धनकुटामा वाम गठबन्धन भएका बेला पनि तीनै सीट एमालेले लिएर माओवादीले अघिल्लो चुनावमा मतदाताको भूमिकामात्र निर्वाह गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

 

 

 

प्रतिकृया दिनुहोस