कांग्रेसको समानुपातिक मापदण्ड : पुराना नदोहोर्‍याउने, स्थानीयमा हारेकालाई नल्याउने

Congress samsadiya dal

काठमाडौं । नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार छनोटको ४ वटा मापदण्ड तय गरेको छ । जसको दोस्रो बुँदामा भनिएको छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन ।’

कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीकोतर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनःप्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदमा पार्टीकोतर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यस्ता व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवार हुनसक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ ।

उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानका साथै पार्टीलाई लोकप्रिय मत थप गर्नसक्ने आधारलाई समेत विशेष ध्यान दिइने बैठकको निर्णय छ ।

कांग्रेसको विधानको धारा ३३ ९३० मा उल्लेखित आधारलाई ध्यान दिँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र दुवैमा समानुपातिकतर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम् एक जना उम्मेदवार दिने बैठकले निर्णय गरेको छ ।

उम्मेदवार छनोट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा सङ्घीय कानूनले निर्दिष्ट गरेको जातीय, लैङ्गिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनकोसमेत ख्याल गरिने मुख्यसचिव पौडेलले बताए । 

प्रतिकृया दिनुहोस