समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गते, ११ जनाको सुची बुझाउनैपर्ने

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।

दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगका समानुपातिक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । साथै आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ ।

सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आइतबार दलहरुलाई आग्रह गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताएका छन् ।

उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।

प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ ।

बन्द्यसूची तयार गर्दा कानून र नियमले तोकेअनुसार नभएमा बन्दसूची स्वीकार नगरिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको बन्दसूची तयार पार्दा ध्यान दिनुपर्ने १९ बुँदे ‘चेकलिष्ट’ नै बनाएको छ ।

आयोगले भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम निर्देशिकाको अनुसूची १२ बमोजिमको संख्यामा उम्मेदवारको नाम समावेश भएको हुनुपर्ने र प्रत्येक समावेशी आधारमा समावेश गरिएका उम्मेदवार छुट्टिने ढाँचामा तयार भएको हुनुपर्ने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस