आज इन्द्रजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Indra jatra

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । इन्द्रजात्राका लागि आज सरकारले काठमांडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा पर्व मनाउने गरिएको हो ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयामा काटिन्छ । काटेपछि लिंगोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पारिन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
आजै भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना पनि गरिन्छ । यसैले यो दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ। आज धागोमा अनन्त मन्त्रण गरी बाँध्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस