मिले प्रचण्ड र भट्टराई : चुनाव चिह्न 'गोलाकारभित्र हँसिया हथौडा'

घोषणा पत्र पनि एउटै हुने, सोमबारसम्म औपचारिकता दिइने

Prachanda baburam

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मा‌ओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।

बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ । अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ ।

केही दिनयता प्रचण्ड र बाबुराम निरन्तर संवादमा थिए । जनता समाजवादी पार्टी जसपाबाट अलग भएपछि उनले हालै नयाँ पार्टी दर्ता गरेका थिए । उनले आफ्नो पार्टीको चुनाव चिह्न आँखा राखेका थिए । तर, प्रचण्डसँग माओवादी केन्द्रकै गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट लड्ने सहमति गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा एउटै चिह्नबाट चुनाव लड्ने सहमति बनेको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए ।

प्रचण्डलाई भेट्न समाजवादीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादव पुगेका थिए । एउटै चिह्न र घोषणापत्रबाट लड्ने सोमबारसम्म लिखित रुपमा समझदारी गर्ने तयारी रहेको उनले बताए । एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको 'गोलाकारभित्रको हँसिया हथौडा' हुनेछ । निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ ।

निर्वाचन आयोगले आइतबार निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् ।

ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने’ व्यवस्था छ ।

प्रतिकृया दिनुहोस