राजनीतिक पार्टीहरुमा परिवारवादको जालो, परिवारवाद की निजी कम्पनी ?

Shirsha neta

काठमाडौं । परिवारवाद र नातावादको कुरा नेपाली राजनीतिमा सधैं चलिरहन्छ । खासगरी नेपालका राजनीतिक दलहरुका शीर्ष नेताहरुका सन्तान र आफन्तहरु पहुँचकै भरमा राजनीतिक नेतृत्व हत्याउन सफल बन्दै आएका छन् ।

बेलाबेला आफ्नै सन्तान र परिवारका सदस्यलाई राजनीतिक जिम्मेवारी दिएको, राजकीय सेवा सुविधा दिएको लगायतका विषयमा नेपालका राजनीतिक दलहरुका शीर्ष नेताहरु मात्रै होइन, दोस्रो र तेस्रो तहका नेताहरु सबैं आलोचित हुने गरेका छन् ।

लोकतान्त्रिक दलको विधान बोके पनि राजनीतिक दलका शीर्ष नेताहरु परिवारवादमा चुर्लुम्म डुबेर पार्टीलाई निजी कम्पनीको स्वरुपमा ढालिसकेका छन् । परिवारवादमा फसेका दलले लोकतन्त्रको जति नै दुहाई दिए पनि जनताको नजरबाट ओझेल पर्दै जानेछन । तर यो कुरा बुझेर पनि नेताहरुले बुझ पचाइरहेका छन् ।

परिवारका सदस्यलाई लाभको पद नदिए पनि यति र ओम्नीलगायतका केही अमूक कम्पनी र राजदूतदेखि विभिन्न निकायमा नियुक्त भएका व्यक्तिहरुप्रति देखाएको आशक्तिले ओली आलोचित भए । परिवारवाद र आसेपासेसँगै रमाउन खोज्ने नेताहरुले परिवारवादको श्रृंखला अन्त्य गर्ने नारा दिएर ल्याएको गणतन्त्रलाई अर्थहीन बनाइदिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाए । यस्ता अन्य दलमा पनि आफ्ना परिवारका सदस्यलाई सत्ता र शक्तिको पहुँचमा पुर्‍याउने चलन स्थापित हुँदैछ । परिवार हितमा ध्यान केिन्द्रत गर्ने नेताहरुको सूचिमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि अछुतो छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै छोरी रेणे दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाउने बेला निक्कै आलोचना मात्रै खेप्नु परेन, गठबन्धनभित्रै संकट पर्ने अवस्था आयो ।

राजसंस्थालाई बिदाई गरेर गणतन्त्र ल्याइयो । बाबुपछि छोराले शासन गर्ने प्रणालीको विरोधमा उत्रिएका नागरिक यतिबेला आश्चार्य चकित छन् । कारण परिवारवादविरुद्ध उत्रिएका तिनै नेता अहिले आफ्ना परिवारका सदस्यलाई दलको उच्च पद दिनपछि पर्ने गरेका छैनन् । संविधान र कतिपय मान्यता विपरित पछिल्लो समय विधिको चरम दोहन हुन थालेको छ ।

यीनै उपलब्धि प्राप्तिका लागि नेतृत्व गरेका दल र नेताहरुमा देखिएको चरम सत्तामुखी र परिवारवादी सोचले प्राप्त उपलब्धिहरुको रक्षा अब कसरी गर्ने, जुन व्यवस्थाका लागि लडिएको थियो ती व्यवस्थालाई कसरी संस्थागत गर्ने अनि जुन प्रवृत्तिको अन्त्य गरिएको भनिएको थियो ती प्रवृत्तिका अवशेषहरु बलियो बनेर आएका छन् ।

एउटा दलमा मात्र होइन, शासन सत्ता वरिपरि रमाउने प्रायः सबै दलमा परिवारवादी सोच जबरजस्त स्थापित भएका छन् । नेपाली कांग्रेसमा सभापति–शेरबहादुर देउवा हुँदा पत्नी आरजु देउवा– केन्द्रीय सदस्य र छोरा जयवीरसिंह देउवा क्रियाशील सदस्य छन् । त्यस्तै कोइराला परिवारको विरासतको रुपमा पूर्वमहामन्त्री डा सशांक कोइराला, नेता डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला रहेका छन् ।

गणेशमान सिंहको विरासतमा नेता प्रकाशमान सिंह छन् भने पत्नी सृजना सिंह काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारथिइन भने महाधिवेशन प्रतिनिधि पनि हुन् । साथै छोरा प्रभाषमान सिंह पनि महाधिवेशन प्रतिनिधि हुन् ।

महेन्द्रनारायण निधिको विरासत नेता विमलेन्द्र निधि हुन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल महाधिवेशन प्रतिनिधि हुन् भने विजय गच्छदारका छोरा सुवास गच्छदार पनि महाधिवेशन प्रतिनिधि हुन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनकी छोरी रेनु दाहाल केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी मेयर हुन् । अर्की छोरी गंगा दाहाल केन्द्रीय सदस्य, ज्वाईं जीवन आचार्य केन्द्रीय सदस्य, बुहारी बिना मगर केन्द्रीय सदस्य, भाइ नारायण दाहाल केन्द्रीय सदस्य र नातिनी (ज्ञानु दाहालकी छोरी) सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य छन् ।

त्यसैगरी केन्द्रीय सदस्य वर्षमान पुन पुनकी पत्नी ओनसरी घर्ती जनजातिबाट महिला सदस्य हुन् । कुलप्रसाद केसी खुलाबाट केन्द्रीय सदस्य बन्दा केसी पत्नी ताराकुमारी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य, हितमान शाक्य खुलाबाट केन्द्रीय सदस्य र शाक्य पत्नी अमृता थापा जनजाति महिलाबाट केन्द्रीय सदस्य, गणेशमान पुन खुलाबाट केन्द्रीय सदस्य, पत्नी कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य, देवेन्द्र पौडेल खुलाबाट केन्द्रीय सदस्य, पौडेल पत्नी बलावती शर्मा खसआर्य महिलाबाट केन्द्रीय सदस्य, कृष्णध्वज खड्का र पत्नी रेखा शर्मा खुला कोटाबाट केन्द्रीय सदस्य, देव गुरुङ र पत्नी यशोदा सुवेदी गुरुङ खुल्ला केन्द्रीय सदस्य छन् ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य केन्द्रीय सदस्य र बहिनी मेनका पोखरेल केन्द्रीय सदस्य छन् । सचिव रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो केन्द्रीय सदस्य छन् ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय केन्द्रीय सदस्य, सम्धि सोमप्रसाद पाण्डेका साढुभाइ गोविन्द बन्दी कानूनमन्त्री, रामकुमार भट्टराई र पत्नी कल्याणी खड्का केन्द्रीय सदस्य छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पत्नी हिसिला यमी उपाध्यक्ष छन् भने छोरी मानुषी यमी भट्टराई केन्द्रीय सदस्य तथा ज्वाईं जेकेन्द्रकुमार श्रेष्ठ केन्द्रीय सदस्य छन् ।

यी बाहेक साना दलहरुमा पनि परिवारवाद झाँगिएको छ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पत्नी तुलसा थापा केन्द्रीय सदस्य र छोरा हरिसदेव गौतम केन्द्रीय सदस्य छन् । त्यस्तै नेकपा मसालका महामन्त्री मोहन विक्रा सिंहकी पत्नी दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हुन् ।

 

प्रतिकृया दिनुहोस