साफ यू-२० च्याम्पियनसिप : बंगलादेशसँग नेपालको बराबरी, फाइनल पुग्न भारतको नतिजा कुर्नुपर्ने

Nepal u 20

काठमाडौं । भारतमा भइरहेको साफ यू -२० च्याम्पियनसिप अन्तर्गत तीन रातो कार्ड देखाइएको खेलमा नेपाल बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो ।

बराबरीको नतिजाले नेपालले अब फाइनल पुग्न भारत र मालदिभ्सबीचको खेलको नतिजा पर्खनुपर्ने भएको छ । च्याम्पियनसिपमा अपराजित रहेको बंगलादेशले १० अंकसहित फाइनलमा प्रवेश गरेको छ । बराबरीको नतिजाले नेपालको ७ अंक भएको छ । फाइनल पुग्ने अर्को टोलीको टुङगो भने राउण्ड रोविनको अन्तिम खेलले लगाउनेछ ।
नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेलको नतिजा कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।

बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।

३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाएका थिए । दोस्रो हाफको सुरुवात देखि नै दुवै टोली गोल गर्ने लक्ष्यसहित आक्रामक बनेका थिए ।

तर दोस्रो हाफ सुरु भएको दुई मिनेटपछि नै खेल तनावग्रस्त बन्यो । नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्ड पाए । ४७औं मिनेटमा बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्सम्यानले फल दिए । त्यसपछि हुसेन लाइन्सम्यानसँग प्रतिवाद गर्न गए ।

नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिए । त्यसपछि मैदानमा हात हालाहालको स्थिति बन्यो । त्यसपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए ।

यस्तै हाल हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०-१० खेलाडीमा सिमित भयो । खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औ मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए ।

६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि दुवै टोली गोल थप्दै अग्रता बनाउने प्रयासमा थिए ।

तर दुवै टिमले गोल गर्न सकेनन् । ८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएका थिए । त्यसपछि लगत्तै बंगलादेशले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...