ओलीको प्रश्न, गठबन्धनकै भनाइ अनुसारको रिपोर्ट दिने बहुमत सदस्य राखेर समिति किन बनाइयो ?

Kp oli

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट ल्याउनुअघि करको दायरा हेरफेर गरेको आरोप लागेपछि सरकारले संसदीय विशेष छानविन समिति बनायो । जसले प्रतिवेदन पनि सार्वजनिक गरिसकेको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समितिले शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्न अपिल गरेका छन् ।

शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएको दावी गर्दै समितिले पेश गरेको प्रतिवेदन मान्य नहुने भएकाले जनताले अस्वीकार गर्न अपिल गरेका हुन् ।

अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा ल्याइएको प्रतिवेदन सन्तुलित नभएको भन्दै मान्न नसकिने बताए । उनले जनार्दन शर्मालाई जोगाउने गरी सत्तागठबन्धनले बहुमत सदस्य आफ्नैतर्फबाट राखेकाले प्रतिवेदन तथ्यमा आधारित नभएको आरोप लगाए ।

११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्वअर्थमन्त्री शर्मालाई सफाइ दिएको छ ।समितिमा रहेका एमालेतर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका थिए । ‘अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ भन्दै उनीहरूले फरक मत राखेका हुन् ।

समितिमा एमालेबाहेक सत्ता पक्षबाट लक्ष्मणलाल कर्ण, देवप्रसाद गुरुङ, मानबहादुर विश्वकर्मा, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव सदस्य थिए ।

एकाध व्यावसायिक घरानालाई फाइदा पुर्‍याउन कमिसन खाएर करका दर हेरफेर गरिएको उनले बताए । 'बजेट बनाउँदा कमिसन खाएर करका दर हेरफेर गरियो । व्यवसायीको एजेन्ट राखेर करको दर हेरफेर गर्नुभन्दा लज्जास्पद के हुन्छ ? कल डिटेल हेरौँ न भन्दा हेर्नु हुँदैन, हेर्‍यो भने त फेला परिहाल्छ नि भनेर हेर्न दिएनन्,' उनले भने ।

बहुमत र अल्पमतमै प्रतिवेदन तयार गर्नु नै थियो भने संसद्‍मै हुन्छ/हुन्न भनेको भए पनि हुने ओलीको भनाइ थियो । उनले अगाडि भने,'जसलाई चाहियो त्यसलाई अल्पमतमा राखिएको छ गठबन्धनकै बहुमत सदस्य राखेर छानबिन समिति बनाएको छ । त्यस समितिले गठबन्धनकै भनाइ अनुसारको रिपोर्ट दिन्छ । बहुमत सदस्य राखेर समिति किन बनाइयो ?'

सीमित व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनका विशेष समिति गठन गरेको थियो । असार २२ मा गठन भएको समितिले २८ गते काम सुरु गरेको थियो । समितिले साउन १२ गते उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।

सरकारले निर्वाचन सार्ने षडयन्त्र गरेको आरोप पनि लगाउँदै ओलीले सत्तारुढ गठबन्धन संघ र प्रदेशको निर्वाचन पर सार्ने षडयन्त्रमा रहेको बताए । उनले लोकतन्त्र रक्षाका लागि समयमै निर्वाचन गर्नका लागि दबाब दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेलाई घेराबन्दी गरेर निर्वाचनमा समेत पराजित गराउने षड्यन्त्र भए पनि आगामी निर्वाचनबाट एमाले ठूलो शक्तिकारुपमा उदाउने दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...