राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

Pubuda dasanayike

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।

पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

पत्रकार सम्मेलनमा उनले भने, 'मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ । अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन ।' त्यस्तै उनले नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने पनि बताए । श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका दासानायके पछिल्लो दुई दशकदेखि क्यानडामा बस्दै आएका छन्  ।

दासानायकेले गत डिसेम्बरमा नेपालको प्रशिक्षकका रूपमा दोस्रो पटक जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा पुबुदको दुई चुनौती थियो । टी–२० विश्वकपमा छनोट गराउने र गुट उपगुट रहेको मिलाउन चुनौती थियो । नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन भने टिमभित्रको हार्दिकता पनि प्रदर्शनमार्फत देख्न सकिएको छैन ।

ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने सम्भावना गुमाएको थियो ।

यसबीचमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ ।

पपुवा न्युगिनीविरुद्ध एकदिवशीय शृंखला खेलेकोमा नेपाल पराजित रह्यो । मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला नेपालले जितेको थियो । जिम्बाबे ए टिमसँगको टीप्–२० शृंखला १–१ को बराबरी भएको थियो भने एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

त्यस्तै विश्व क्रिकेट डिभिजन लिग २ मा यूएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरी नेपालले १२ खेल खेलेको थियो । त्यसमा नेपालले ४ जित, एउटा टाई र ७ वटामा हार बेहोर्‍यो । त्यस्तै उनको प्रशिक्षणमा मे महिनामा मलेसिया, पपुवा न्युगिनी संलग्न त्रिकोणात्मक शृंखला नेपालले जितेको थियो । उनी दुई वर्षका लागि आए पनि एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।

 

 

प्रतिकृया दिनुहोस