माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता गर्न तीव्र बन्यो छलफल, मिसिए वामदेव पनि

Five leader vetghat

काठमाडौं । वाम एकतादेखि समाजवादी केन्द्र निर्माणसम्मको छलफल भइरहेका बेलामा दुई ठूला कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) केन्द्रबीच एकताबारे गृहकार्य थालिएको छ ।

आइतबार भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना नेताहरूबीच भएको छलफलमा वाम एकताको लागि दबाब दिन माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नेबारे छलफल भएको हो । सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेताहरु सोमबार झण्डै ६ घन्टा लामो केन्द्रीय सचिवालय बैठकमा जुटेका थिए ।

एकताका लागि ओली तयार नभएपछि माओवादी समाजवादी एकताको प्रयास थालिएको हो । त्यसो त ओलीलाई पनि पार्टीभित्रबाटै पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताहरूले दबाब बढाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्व(माओवादी ध्रुवीकरणदेखि समाजवादी केन्द्र स्थापनासम्मको छलफलले प्रवेश पाएको छ । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन इमान्दार नभएको निष्कर्षसहित माओवादीले वामपन्थी एकताको नयाँ प्रयास थालेको हो ।

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

आइतबार साँझ साबिक नेकपा बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको थियो ।

नेकपा हुँदाका सचिवालय सदस्यमध्ये केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल अहिले नेकपा एमालेमा छन् । नेकपाको एकता भंग भएपछि अहिले नेकपा ४ टुक्रा भएको छ ।

राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बसेको बैठकमा पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउन छलफल भएको नेताहरुले बताएका छन् ।

पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार बैठकमा पार्टी सञ्चालन र संगठन निर्माणका विषयमा छलफल गरिएको हो । बैठकमा वाम एकताका लागि वामदेव गौतमले गरेको प्रस्तावबारे माधव नेपालबाट ब्रिफिङ भएको नेताहरुले बताएका छन् ।

सोमबारको सचिवालय बैठकले यसअघिका ४ वटा बैठकको गम्भीर समीक्षा गरेको छ । उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीपछि बसेको केन्द्रीय परिषदबारे आज समीक्षा भएको थियो ।

यसअघि समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी हुँदै परिषद बैठक बसेको थियो । बैठकमा नेताहरुबीच ती तिनका उपलब्धिबारे छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस