जसपा विवाद उत्कर्षमा : भट्टराईलाई छलेर यादवले पठाए ३ नयाँ मन्त्रीको नाम

Jasapa old and new ministers

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले शेरबहादर देउवाको मन्त्रीमण्डलमा मन्त्री परिवर्तन गरेलगत्तै जनता समाजवादी पार्टीले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । त्यसका लागि तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरुसँग छलफल गरेका थिए । पार्टी केन्द्रीय सदस्य र सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरुको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर बुझाएको हो ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।

महिन्द्र राय, पछिल्लो समय संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षमा खुलेका थिए । त्यसैले उनलाई हटाउने पहिल्यै तयारी भएको थियो । रेणु यादव र रामसहाय भने अध्यक्ष यादव पक्षकै हुन् ।

राई र प्रदीप यादव हालसालै मात्र कित्ता परिवर्तन गरेका थिए । पछिल्लो समय जसपाको विवादमा दुबैले डा. भट्टराईलाई साथ दिएका थिए । उपेन्द्र यादव सच्चिएनन् भने नयाँ पार्टी बनाउनुपर्ने मत राख्नेहरुमा दुबै सांसद पर्थे । तर अध्यक्ष यादवले मन्त्री हेरफेर गर्ने तयारी गरेसँगै दुवैले कित्ता परिवर्तन गरेका थिए । दुबै भट्टराई पक्षको छलफलमा अनुपस्थित हुन थाले । यादव पक्षको कार्यकारिणी समिति सदस्यहरुको बैठकमा जान थालेका थिए ।

प्रतिकृया दिनुहोस