अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा आज हुँदै

अध्यक्षका लागि तीन जना चुनावी मैदानमा

Anfaaa

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा आज हुँदैछ । साधारणसभा काठमाडौंको बुढानिलकण्ठको एक रिसोर्टमा हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन हुने एन्फाले जनाएको छ । साधारणसभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिँदा हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले पनि प्यानलसहित टक्कर दिइरहेका छन् । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

यस्तै, नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दर नरसिंह जोशी उम्मेदवार छन् ।

एन्फाको निर्वाचन प्रक्रियामा ४४ जिल्ला, राष्ट्रिय लिगका चार क्लब, एन्फामा चारवटा संघ, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब तथा सी डिभिजनका ९ क्लब गरि जम्मा ८४ जनाले मताधिकार पाएका छन् ।

प्रतिकृया दिनुहोस