मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियो : माधव नेपाल

जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न अपिल

Madhav kumar nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।

अध्यक्ष नेपालले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसुका सन्दर्भमा एक सन्देश जारी गर्दै आजको दिन मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिन भएको बताए । दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र नभइ सम्पूर्ण नेपालीको शीर उँचो भएको नेपालको भनाइ छ ।

नेपालको संविधानमा सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधकारूपमा समावेश गरिएको स्मरण गर्दै अध्यक्ष नेपालले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थासहित राष्ट्रिय दलित आयोगको गठनको सुनिश्चितता गरेको बताए ।

छुवाछूतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं । नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौति दिंदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छु, जारी सन्देशमा भनिएको छ ।

जातीय छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न अध्यक्ष नेपालले अपिल पनि गरेका छन् ।

 

प्रतिकृया दिनुहोस