प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

Local election

काठमाडौँ। प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी पराजित भए । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग पारजित भए । मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८२ मत मात्रै पाए ।

यस्तै प्रदेशसभाबाटै राजीनामा दिएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पनि पराजयउन्मुख छन् । काठमाडौंमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले सुरूदेखि नै अग्रता लिएपछि उनी पछि परे । बिचमा नेपाली कांग्रेसकी उम्मेदवारसँग पनि पछि परेका छन् । यद्यपि मतगणनाको अन्तिम परिणाम आइसकेको छैन । तर काठमाडौंमा बालेन शाहको जित पक्का पक्की भईसकेको छ ।

गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग पराजित भए। मेयरमा निर्वाचित आचार्यले ५८ हजार ८९३ मत पाउँदा थापाले ५२ हजार ८ सय ४८ मत मात्र पाए । प्रदेश सभाबाट राजीनामा दिएका गोपालचन्द्र बुढाथोकी भने मेयरमा निर्वाचित भए । झापाको मेचीनगर नगरपालिकाका उम्मेदवारी दिएका बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्र प्राप्त गरेका थिए । 

प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएका २ मध्ये एक जना पराजित भए भने एक जनाले जित हात पारे । प्रदेश सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए । उनी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदय नगरपालिकाकै पूर्व प्रमुख रणबहादुर राईसँग १८५२ मतान्तरमा पराजित भए । राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् ।

मधेश प्रदेश सांसदबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा र शेख अबुलकलाम आजाद दुबै जना मेयर पदमा परजित भए । सर्लाहीको गोडैताको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरमा पराजित भए । लोसपाका यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा पराजित भएका थिए । मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाएर चुनाव जितेका थिए । मधेश प्रदेशकै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद पनि पराजित भएका छन् ।

गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी ९जसपा० बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले हराए। यादवले ८६३१ मत ल्याउँदा आजादले ८०७३ मत मात्र पाए । यस्तै बागमती प्रदेश सभाबाट राजीनामा दिएर दुई महानगरको मेयरमा उम्मेदवारी दिएका दुई जनामध्ये १ जना पराजित भइसके भने अर्का एक पराजउन्मुख छन् । यता लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका दिपेश थारूले भने बर्दियाको राजापुर नगरपालिकाको मेयर जितेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित थारूले ९ हजार ८०७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शाहले ९ हजार ७ सय ६० मत पाए।

प्रतिकृया दिनुहोस