जित पक्का भएपछि बालेन साहद्वारा आफ्ना समर्थकहरुलाई विजय जुलुस नगर्न आह्वान

Balen lauro

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न आह्वान गरेका छन् । बालेनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत वक्तव्य जारी गर्दै आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन आह्वान गरेका हुन ।


विजय र्‍यालीका नाममा काठमाडौं नआउन आह्वान गर्दै उहाँले यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी लिए पनि आफूहरु खुशी हुने उहाँले उल्लेख गरेका छन् । उनले निर्वाचन परिणामलाई जित हारको रुपमा नहेर्न समेत अपिल गरेका छन् । बालेन लेख्छन, ‘जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला ।’

निर्वाचनमा मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिँदै बालेनले आफूहरुलाई विश्वास गरेकामा अनुगृहित भएको उल्लेख गरेका छन् । निर्वाचित भएदेखि वास्तविक परीक्षा शुरु भएको भन्दै बालेनले आफ्नो कामकारबाहीलाई खवरदारी गर्न सबैमा अपिल गरेका हुन ।

वक्तव्यको पूर्णपाठ :-

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।

जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं।

अभियानको अहिलेसम्मको सफलताका लागि खुशियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सधैं तपाईंहरुसँग जोडिरहेका हुन्छौं । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।

अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...