इटहरी उपमहानगरपालिकामा मेयरमा हेमकर्ण र उपमेयरमा संगीता निर्वाचित

Hemkarna itahari

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।

बहुदलीय व्यवस्था सुरु भएपछि हालसम्म इटहरीमा कांग्रेसले जित निकाल्न सकेको थिएन । २०४९ सालमा गाउँ विकास समिति हुँदा र २०५३ सालमा इटहरी नगरपालिका भएपछि २०५४ सालमा भएको निर्वाचन एमालले नै जित निकाल्दै आएको थियो । यस्तै २०७१ सालमा उपमहानगरपालिका घोषणा भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमाले नेतृत्वले विजय हासिल गरेको थियो ।

उपमेयरमा सत्ता गठबन्धन बाहिरको एमालेकी उम्मेदवार चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । विष्टले १८ हजार ३१ मत मात्र ल्याउन सके ।

२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली कांग्रेसले बहुमत वडाहरु गुमाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको कांग्रेस यसपटक ४ वटामा खुम्चिएको छ । एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस