यौनहिंसाका आरोपितलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

Agni sapkota

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । 

नेपाली कांग्रेसका सांसद थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका थिए । उनले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने पनि बताएका थिए ।

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरूको संलग्नता देखाएकी थिइन् ।

प्रतिकृया दिनुहोस