एमाले धनकुटामा विद्रोह नै विद्रोह, पाख्रीबास नगरपालिका मेयरले यसकारण त्यागे एमाले

Brish rai muga

धनकुटा । नेकपा एमाले धनकुटामा विद्रोहको आगो दन्किन थालेको छ । स्थानीय निकायको निर्वाचनमा टिकट बाँडफाँडमा एकलौटी गरिएको भन्दै नेकपा एमालेका विद्रोहको आगो दन्किन थालेको हो ।

गत स्थानीय तहको निर्वाचनमा धनकुटालाई क्लिन स्वीप गर्न नेतृत्व गरेका एमालेका तत्कालीन जिल्ला अध्यक्ष तथा वर्तमान केन्द्रिय सदस्य राजेन्द्र राईको गृह नगर पाख्रिबासमा हिजो भएको उम्मेदवारी मनोनयनसँगै एमालेमा पार्टी छोड्नेको संख्या एक्कासी बढेको हो ।

धनकुटाको पाख्रीबास नगरपालिका मेयर बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले क्लिन स्वीप अर्थात् सबै ५२ सिट नै जितेको थियो ।

उनी मेयरको आकांक्षी थिए । एमालेले पाख्रीबासको उम्मेद्‍वार छनौटको क्रममा राई असन्तुष्ट रहँदै आएका उनी निकट एक कार्यकर्ताले बताए । तर राईले भने मेयर नपाएर नभई अरु नै कारणले पार्टी छाडेको बताए । एमालेको तर्फबाट भीम राई पाख्रीबासको मेयर उम्मेद्‍वार बनेका छन् ।

उनी केही समययता एमालेमा असन्तुष्ट थिए । सोमबार उम्मेदवार मनोनयनका क्रममा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसँग उनको भनाभन भएको थियो । सो क्रममा प्रतिनिधिसभा सदस्य राईले मेयर राईलाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गर्ने धम्की दिएका थिए । सो धम्कीपछि उनी थप रुष्ट बनेका थिए ।

‘मैले आजदेखि नै पार्टीमा नरहने घोषणा गरे, दुःख त लागेकै छ तथापी !’ उनले फेसवुकमा लेखेका छन् । पार्टी छोड्नुको कारण भने मेयर राईले प्रष्ट खुलाएका छैनन् । उनले आफुलाई स्वतन्त्र बस्न मन लागेकाले पार्टी छोडेको प्रतिक्रिया दिए । पुनः मेयरको टिकट नपाएपछि राईले यस्तो निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा यो बिषयको चर्चा भइरहेको छ ।

राईले एमाले त्यागेको घोषणा गरेसँगै २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सातै वटै पालिका जितेर राजनीतिक रुपमा क्लीन स्वीप गरेको जिल्लाको रुपमा कहलिएको धनकुटा एमालेमा यतिबेला ठूलो खैलाबैला मच्चिएको छ ।

त्यसका अलावा मनोनयनका क्रममा पाख्रिबास बजारमा एमालेबीच कुटाकुट भएपछि एमालेभित्र विवाद बढ्दै गएको छ । पाख्रिबास नगरपालिका वडा नं. ४ मा आफ्ना आसेपासेलाई मात्रै टिकट वितरण गरेको भन्दै पुराना र अग्रज नेताहरुले असन्तुष्टि जनाएका थिए । सोही क्रममा असन्तुष्ट समुहले बेग्लै उम्मेदवारी दिन खोजेपछि कुटाकुट नै भएको थियो ।

 

प्रतिकृया दिनुहोस