प्रचण्डले भने, रेणु दाहालका लागि मात्रै कहाँ भरतपुर महानगरपालिका मागेको हो ?

Prachanda 6

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबनधनबीच आपसी तालमेलबाटै हुने बताएका छन् । प्रचण्डले आज बेलुकासम्ममा ६ वटा महानगर र ११ वटा उपमहानगरको भागबण्डा टुंग्याउने दाबी पनि गरे ।

माओवादीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार भेटघाटमा प्रचण्डले महानगर र उपमहानगरपालिकामा आज साँझसम्मै भागबण्डा टुंगिने बताए । उनले ६ वटा महानगरमध्ये ३ वटा नेपाली कांग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपाले १ १ वटा लिनेगी छलफल भइरहेको बताए ।

प्रचण्डले आफुले रेणु दाहालको लागि भरतपुर नमागेको जिकिर गरे । ‘भरतपुर पहिलेदेखि जितेको हुनाले माओवादीको दावी स्वभाविकै हो । तर, त्यो नै मुख्य होइन’ प्रचण्डले भने, ‘६ वटा महानगरपालिकामध्ये माओवादीलाई जुनसुकै दिए पनि हुन्छ भनेका छौं । तर, भरतपुरमा माओवादीले जितेको र त्यहाँ माओवादीलाई सजिलो हुन्छ भनेर मात्रै दावी गरिएको हो । यसमै अडान चाँही छैन ।’

‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, ‘भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा पर्ने होला। काठमाडौं, बिराटनगर, भरतपुर जे भए पनि हुन्छ भनेको छु ।’

‘गठबन्धनको तालमेलबारे आजै निर्णय पुग्छौँ । नगरपालिका र गाउँपालिकाको पनि तल अधिकार दिएका छौँ । तल्लो तहको रिपोर्टको आधारमा भोलिसम्म टुंग्याउछौँ ।’ प्रचण्डले भने, अहिले म गठबन्धनको बैठकबाट सोझै आएको छु, पत्रकार सम्मेलन सकेपछि फेरि बैठकमा जान्छु । हामी आजै टुंग्याउन घनिभूत छलफल गरिरहेका छौं ।’

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन् । प्रचण्डले भने, ‘निर्वाचनमा सबै दलहरु होमिसकेको अवस्था छ । निर्वाचन सर्दैन, वैशाख ३० गते नै हुन्छ । गठबन्धन निर्वाचनको अन्तिम तयारीमा पुगेको छ। निर्वाचन सर्दैन । सरकार र सरकारमा भएका पार्टीको निर्वाचन सार्ने मनसाय छैन । गठबन्धन निर्वाचनमा होमिसकेको छ ।’

नगरपालिका र गाउँपालिकाको विषयमा भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने कोसिस गरिने प्रचण्डले बताए । ‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर तल दिएकै छौ । आज बेलुकासम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ । हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गर्छौ’ प्रचण्डले भने ।

 

प्रतिकृया दिनुहोस