एमाले, राप्रपा नेपाल र परिवार दलबीच बन्यो चुनावी गठबन्धन, चुनाव चिन्ह चाँही सूर्य

Uml rpp samjhauta

काठमाडौं । एक्लै निर्वाचनमा भाग लिने हुंकार पिट्दै आएको नेकपा एमालेले अन्ततः राजावादी पार्टीसँग मिलेर आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन गठबन्धन बनाएको छ ।

एमालेले आज आफुलाई राजावादी बताउँदै आएका कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । ढकाल गत प्रतिनिधिसभाको निर्वाचनमा एमालेकै सूर्य चिन्हबाट उम्मेदवार बनेका थिए ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफनो पार्टी केन्द्रमा पठाउने गरी सहमति भएको राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमतिमा भनिएको छ ।

यता, नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ । नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ । अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस